माडीको परिचय

भौगोलिक, सामाजिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणमा माडी…

कृषि र पर्यटनको प्रशस्त संभावना भएको माडी नेपालको मध्यभागमा अवस्थित चितवन जिल्लाको सदरमुकाम भरतपुर देखि ३२ किलोमिटर दक्षिणी भागमा अवस्थित छ । माडी आदिवासी थारु समुदायको पुरानो बासस्थान हो भने अहिले विभिन्न जातजातिहरुको साझा बसोवासको क्षेत्र माडी उपत्यका बनेको छ । चितवन जिल्लाका दुईवटा उपत्यकाहरु मध्ये रेवा उपत्यका एक हो । रेवा नदीलाई स्थानीय भाषामा रिउ खोला पनि भनिन्छ । राप्ती उपत्यकालाई राप्ती दून पनि भनिन्छ र त्यस्तै रेवा उपत्यकालाई रेवा दून पनि भन्न सकिन्छ । दून शब्द संस्कृत शब्द द्रोणीको अपभ्रंश हो । यसको अर्थ दुई पर्वत माझको समतल भूमि हुन्छ । यसैले चुरे र महाभारत पर्वत बीच अवस्थित उपत्यका भूमिलाई रेवा दून भनिएको हो । नामाकरणको हकमा माण्डब्य ऋषिले तपस्या गरेको भुमि माण्डब्यबाट अपभ्रंश भएर माडी बनेको हो भन्ने भनाइ स्थानीय जनमानसमा रहेको पाइन्छ ।

माडीको भौगोलिक अवस्थिति :
चितवन जिल्ला २७ डिग्री २१ इञ्च ४५ सेकेन्ड देखि २७ डिग्री ५२ इञ्च ३० सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री ५४ इञ्च ४५ सेकेन्ड देखि ८४ डिग्री ४८ इञ्च १५ सेकेन्ड पूर्वी देशान्तरमा अवस्थित छ भने यो समुद्री सतहबाट करिव ३०० मिटर उचाइमा रहेको मध्य तराई प्रदेश नजिक भित्री मधेशको रुपमा रहेको छ । भौगोलिक सुचना प्रणालीमा राखिए अनुसार यस जिल्लाको कुल क्षेत्रफल २२३८ वर्गकिलोमिटर छ । त्यस्तै माडीको कुल क्षेत्रफल भने २१८.२४ बर्ग किलोमिटर रहेको छ । माडीको नक्सा अनुसार बघौंडा, जुन माडीको मध्य भागमा पर्छ त्यो करिब ८४ डिग्री १६ इञ्च देखि ८४ डिग्री २० इञ्च पुर्बी देशान्तर र २७ डिग्री २४ इञ्च देखि २७ डिग्री २९ इञ्च उत्तरी अक्षांश सम्म पर्छ । उचाइको हिसाबले माडीको अयोध्यापुरी गाविसको बगाईं समुद्री सतहबाट करीब २६७ मिटर उचाइमा छ भने बघौंडाको बसन्तपुर करिब १६८ मिटर उचाइमा छ । त्यस्तै गर्दीको चन्द्रपुरी र बनकट्टा १६२ मिटर उचाइमा रहेको पाइन्छ । समग्र माडीको सरदर उचाइ करिब २०० मिटर देखिन्छ । त्यसैगरी सोमेश्वर डाँडाको अधिकतम उचाइ करिब ८८६ मिटर रहेको छ ।

चुरे श्रेणी मोडिएर दक्षिण पूर्व भई केही समतल भाग घेरिएर भित्र पर्न गएका छन् । उत्तरमा महाभारत स्थित यी भागहरु ११० देखि ६६५ मिटर अग्ला उपत्यकाको रुपमा रहेका छन् । ३० देखि ६५ किलोमिटर सम्मको चौडाई र १०० कि.मी. सम्मको लम्वाईका यी उचावेशीहरुलाई दून वा भित्री मधेस वा भित्री तराई भनिन्छ । चितवन, नवलपरासी, मकवानपुर, दाङ, उदयपुर, सुर्खेत जस्ता प्रदेशहरु दून वा भित्री मधेस वा भित्री तराई अन्तर्गत गणना गरिन्छन् । चितवन चिसो पानी र खेती योग्य भू–भाग भएकोले बस्ती बाक्लिदै गएको छ । नारायणी र यसका सहायक नदीले सिंचित भागलाई राप्ती उपत्यका र रेवा वा यसका सहायक नदीहरुले सिंचित भएकोले माडीलाई रेवा उपत्यका भन्न सकिन्छ । वरीपरी चुरे पहाडले घेरिएको र बिचमा समथर मैदान भएको हुँदा माडीलाई उपत्यकाको रुपमा देख्न सकिन्छ । यसलाई रिउ (रेवा) नदीको नामबाट रेवा माडी उपत्यका पनि भन्न सकिन्छ ।

जिल्ला भित्रको अवस्थितिका हिसावले दक्षिण पश्चिम भेगमा रहेको माडी विश्व सम्पदा सूचिमा गणना भएको (९३२ वर्ग कि.मी. भूमिमा फैलिएको) चितवन राष्ट्रिय निकुञ्ज उत्तरमा, पर्सा जिल्ला र यस अन्तर्गतको ठोरी पूर्वमा, पश्चिममा राष्ट्रिय निकुञ्ज राप्ती र नारायणी, दक्षिणमा भारतको विहार प्रान्त र नेपालकै सोमेश्वर चूरे पहाड, जसलाई भारतमा शिवालिक भनिन्छ, यस बीचमा पूर्व पश्चिम लम्वाइ भएको माडी प्रायः सबै भाग रेवा नदीको बायाँ किनारमा फैलिएको छ र सोमेश्वर चुरे श्रेणीको दायाँ किनारमा समानान्तररुपमा फैलिएको छ । चुरे पहाडले चारैतिर घेरिएको दक्षिण तिर तराई प्रदेश टुटेको र भारतीय भुमि विहार प्रान्तसँग जोडिएको माडीले भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक र पूरातात्विक दृष्टिकोणले आफ्नो छुट्टै पहिचान राख्दछ ।

माडी उपत्यकामा ४ गा.वि.स.हरु मध्ये अयोध्यापुरी, कल्याणपुर, बघौडा र गर्दी क्रमशः पूर्वबाट पश्चिमतर्फ छन् । माडीको भू–सतह हेर्दा सामान्यतः रेवा नदीको बहावको दिशा अनुसार पूर्वबाट पश्चिमतिर उचाइ कम हुँदै र मन्द भिरालो हुँदै गएको देखिन्छ भने दक्षिणतिर चुरे पहाड भएकोले उत्तरबाट दक्षिणतिर सतहका उचाई बढ्दै गएको देखिन्छ । भौगोलिक हिसावले पूर्वपश्चिम लाम्चो परेर उत्तर दक्षिण चौडाइको रुपमा फैलिएको यस उपत्यकाको कूल लम्वाइ अधिकतम करिव ४० कि.मी. र उत्तर दक्षिण चौडाइ अधिकतम करिव १० कि.मी. जति पाइन्छ । दक्षिण पूर्वतिरको चुरे पहाडबाट उत्पत्ति भएर पश्चिम उत्तरतिर बग्ने रेवा नदीले पूरै उपत्यकालाई पार गर्दछ र अन्त्यमा राप्ती नदीमा गएर मिल्दछ भने दक्षिण तिरको चुरे पहाडको ठाउँठाउँबाट शुरु भएर कैयौं साना ठूला खोला खोल्सा खहरेहरु माडीको जमिनलाई सिंचाई सुविधा र क्षति समेत पु¥याउँदै अन्तमा रेवा खोलामा गएर मिल्दछन् ।

माडीको तापक्रम र वर्षाको स्थिति :
माडीको तापक्रम, समग्र तराई प्रदेशको तापक्रम संग मिल्दो जुल्दो छ । गर्मी महिनाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस सम्म रेकर्ड गरिएको छ भने ठन्डी महिनामा जनवरीमा अधिकतम तापक्रम सरदर १४.७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस सम्म रेकर्ड गरिएको छ । त्यस्तै वर्षाको हकमा सामान्यतः मध्य तराईमा प्रायः हुने वार्षिक वर्षाको समान प्रभाव यहाँ पर्दछ । वर्षा याममा १०० देखि २०० सेन्टिमिटर सम्मको बर्षा यहाँ हुन्छ भने वार्षिक बर्षा १६०० मिलिमिटरसम्म हुन्छ । तर हालका वर्षहरुमा प्रतिवर्ष तापक्रम बढी र वर्षा कम हुँदै गएको पाइएको छ । जाडो महिनामा यहाँ कुहिरो लाग्ने गर्दछ ।

माडीको पर्यावरणीय स्थिति :
माडी उपत्यकामा बग्ने अन्य सानाठूला खोलाहरु जस्तैः बगई, कुसुम, घाँघर, रिमाल, बाँदरमुडे, रतनी, मगुही(महेश्वरी), चिताई, मरवठ, चन्द्रे, डाँग्रे आदि खोला खहरेहरु र वैकुण्ठे, गोद्धक जस्ता झरनाहरु उल्लेख्य छन् । त्यस्तै सोमेश्वर कालिका मन्दिर भौगोलिक हिसावले उच्चतम स्थानमा रहेको छ भने यो विशेष गरी माडी उपत्यकाको दृश्यावलोकन र धार्मिक पर्यटनको लागि प्रसिद्ध मानिन्छ । पाण्डब इनार र पर्शुराम कुण्डले पुरातात्विक र धार्मिक महत्व राख्दछन् ।

खुकुलो गेगर ढुड्डामाटोले बनेको, पहाड निर्माण प्रणालीको कान्छो पर्वतमाला चूरे पर्वत वर्षाको बेला बाढी आएर छिद्रहरुमा पानी पस्न गई पानीले पखालेर बगाएर लैजान्छ र समथर मैदानमा ओर्लेपछि बगाउने शक्ति भन्दा थुपार्ने कृया बढी भई दायाँ वायाँ थुपार्न थाल्दा खोलाको सतह माथि उठ्न गई बस्ती र खेतहरुमा बाढी प्रवेश गरेर मलिलो पनि बनाउँछ । यसैगरी माडीमा ग्रेगर गिटीको मात्रा बढी भई पूर्ने, काट्ने, बगाउने गरी ठूलो क्षति पु¥याएको पनि पाइन्छ । माडीको पर्याबरणीय स्थितिमा ठूलो प्रभाब पार्ने रेवा नदी र यसका सहायक खोलाहरुमा मजबुत तटबन्धन गरी माटोको क्षयीकरण र मानब बस्तीको संरक्षण गर्नु जरुरी देखिन्छ । हाल संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (यूएनडिपी) बाट तटबन्धन, बृक्षारोपण, क्षमता विकास र उद्धार सामग्रीहरुका लागि चारै गाबिसमा करिब २५ लाखका दरले लगानीको सुरुवात गरिएको छ ।

नेपालकै गौरव मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसमा रहने जंगली जनावरहरु हात्ती, गैंडा, बाघ, भालु लगायतका हिंस्रक जनावरहरुले जंगल नजिकका बस्तीमा प्रवेश गरेर मान्छेहरुलाई आक्रमण गर्ने, मार्ने गर्नुका साथै खेतीबालीमा पनि ठूलो नोक्सानी पु¥याएको पाइन्छ । त्यसैले राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रहरुमा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको गठन गर्ने अवधारणा अनुरुप माडीका चारै गा.वि.स.हरुमा उपभोक्ता समितिहरुको गठन गरी राष्ट्रिय निकुञ्ज र उपभोक्ता समूहहरुको बिचमा समन्वय गर्दै र निकुञ्ज प्रभावित क्षेत्रका जनताहरुलाई पुगेको हानी नोक्सानीको लागि क्षतिपूर्ति दिँइदै आइएको भएता पनि क्षतिको तुलनामा उक्त उपभोक्ता समितिहरुमा जाने बजेट अझै अपर्याप्त छ । जसले गर्दा राष्ट्रिय निकुञ्ज र माडीका जनताहरुको बिचमा ठूलो द्वन्द उत्पन्न भई स्थानीय जनताहरुले राष्ट्रिय निकुञ्जको संरक्षण र जंगली जनावरलाई हेर्ने दृष्टिकोण सकरात्मक बन्न सकेको छैन । यो द्वन्दलाइ न्यूनिकरण गर्न निकुञ्ज प्रशासनले पनि जगंली जनावरहरुलाइ नियन्त्रण र व्यवस्थापन गर्नु अति जरुरी छ । माडीका स्थानीय जनताले दक्षिण पट्टीको सोमेश्वर चुरे पहाड क्षेत्रमा सामुदायिक वनको अवधारणा ल्याई रुख विरुवा हुर्काई सामुदायिक वन उपभोक्ता समिति मार्फत संरक्षण र आवश्यक काठदाउरा र घाँसको प्रयोग गर्दै आइरहेका छन् ।

माडीको माटो :
माडी उपत्यकामा मूलतः बलौटे, पाँगो, फुस्रो र रातो माटो पाइन्छ । खोला किनार नजिकका खेतहरुमा फुस्रो बलौटे माटो पाइन्छ भने माथिल्लो जंगल नजिकका भागहरुमा पातपतिंगर कुहेको, मलिलो माटो पाइन्छ । टाँडी क्षेत्रहरुमा फुस्रो, रातो र सेतो माटो पाइन्छ ।

माडीको प्राकृतिक वनस्पति :
मानिसको परिश्रम विना प्राकृतिक रुपमा आफै उम्रेको र हुर्केको वनस्पतिलाई प्राकृतिक वनस्पति भनिन्छ । प्राकृतिक वनस्पति पनि हावापानीमा निर्भर रहन्छन् । न्यानो र आर्द्र किसिमको उपोष्ण हावापानी पाइने माडी क्षेत्रमा सदावहार प्रकारका रुखहरु पाइन्छन् । माडीको प्राकृतिक वनस्पतिको कुरा गर्दा मुख्यतः पतझड जंगलनै यहाँ आसपासमा पाइन्छ । जस्तैः वर, पिपल, स्वामी साल, सिसौं, खयर, सिमल, चाप, कटुस, चिलाउने, तिजु, मुसुरे कटुस, टिमूर, हर्रो, बर्रो, अमला, टुनी, घोक्रे, शिरिस, दार, देवदार, आदि रुखहरु मूख्यरुपमा पाइन्छन् साथै चुवाको फूल, विभिन्न जातका कुकाठहरु जस्तै बकाइना, बाँस लगायत कयौं जडिबुटीहरु आदि जंगल तथा वस्ती आसपासका क्षेत्रमा पाइन्छन् । यसैगरी यहाँका जंगलहरुमा अनेकौं जीवजन्तुहरु, जस्तै हात्ती, गैंडा, बाघ, भालु, बँदेल, चित्री, हरिण, जरायो, निलगाई, स्याल, बाँदर आदि पाइन्छन् भने चराचुरुड्डीहरुमा मयूँर, वन कुखुरा, काग, धोवीनि, ढुकुर, लाचे, डाङ्ग्रे, जुरेला, गिद्ध, चिल आदि पाइन्छन् । त्यस्तै घस्रने जीवजन्तुहरुमा गोहोरो, गोही, करेत सर्प, गोमन सर्प, अजिंगर, कछुवा आदि जातका जीवजन्तुहरु पाइन्छन् ।

माडीको सामाजिक जनसांख्यिक स्थिति :
सामाजिक जनसांख्यिक दृष्टिकोणले माडीलाई हेर्दा सन् २०११ को राष्ट्रिय जनगणनाको आधारमा यहाँको अयोध्यापुरी गा.वि.स.मा १० हजार ६ सय ९३, कल्याणपुरमा ६ हजार ८ सय ३६, बघौंडामा १० हजार ९ सय १३ र गर्दीमा ९ हजार २ सय ४१ जनसंख्या रहेको देखिन्छ । त्यस्तै सोही जनगणनाका आधारमा अयोध्यापुरीमा कूल घरधुरीको संख्या २ हजार ५ सय ५५, कल्याणपुरमा १ हजार ७ सय पाँच, बघौंडामा २ हजार ५ सय ३२ र गर्दीमा २ हजार १ सय ६८ देखिन्छ ।

माडीको जनसंख्याको बसोबासको स्थितिलाई हेर्दा पश्चिम तिर क्रमशः गर्दी र बघौंडा गा.वि.स.मा कूल बस्तीको आधाजसो (५०%) आदिवासी थारु जातिको बस्ती छ भने अन्य दुई गा.वि.स.हरु कल्याणपुर र अयोध्यापुरी मध्ये कल्याणपुरको केही वडाहरुबाहेक र अयोध्यापुरीमा आदिवासी थारुहरु छैनन् भन्दा पनि हुन्छ । पहाडियाहरु पहाडका विभिन्न जिल्लाहरु स्याङजा, कास्की, पर्वत, वाग्लुङ, गुल्मी, तनहूँ, लमजुङ, गोर्खा, धादिङ र पूर्वी नेपालको इलामबाट बसाइँसराइँ गरी आएको पाइन्छ । यिनीहरुमा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, विश्वकर्मा, परियार, नेपाली, गायक, दराई, बोटे, कुमाल र प्रजा (चेपाड्ड) जातिका मानिस समेत बसोबास गरेको देखिन्छ ।

क्षेत्रफलको हिसावले हेर्ने हो भने अयोध्यापुरी गा.वि.स. अन्य गा.वि.स. भन्दा दोब्बर ठूलो छ, जसको क्षेत्रफल ११४.९२ वर्ग कि.मि.छ । त्यसैगरी बघौंडाको ४२.४०, कल्याणपुर ३४.३५ र गर्दीको २६.५७ वर्ग कि.मि. गरी माडीको कूल क्षेत्रफल २१८.२४ वर्ग कि.मि. रहेको छ । जनसंख्याको हिसावले माडीका चार गा.वि.स.हरुमा ३७ हजार ६ सय ८३ मानिस बसोवास गरेको आँकडा छ भने राष्ट्रिय जनगणना २०५८ को तुलनामा २०६८ सालमा माडीको जनसंख्या घटेको देखिन्छ । यस बिचमा जनसंख्या वृद्धि प्रतिशत १.३५ प्रतिशत रहेको थियो । सुरक्षाको दृष्टिकोणले माडीको आसपास बनकट्टा, बोटे सिमारा, धोबाहा र बगाईंमा सैनिक पोष्ट र बसन्तपुरमा इलाका प्रहरी प्रशासन कार्यालय तथा गर्दी र अयोध्यापुरीमा प्रहरी चौकी रहेका छन् ।

माडीको शैक्षिक विकासको स्थितिलाई हेर्दा प्रथमपटक बि.सं. २०१४ सालमा बघौंडा प्राथमिक विद्यालय स्थापना भएको थियो भने २०२४/२५ सालतिर रेवा हाइस्कूलको नामले स्थापित हालको माडी माध्यमिक विद्यालय (उ.मा.वि.उन्मुख)को स्थापना उल्लेखनीय मानिन्छ । त्यसैगरी अन्य गा.वि.स.हरु जस्तैः जनजीवन मा.वि.(हाल उ.मा.वि.), अयोध्यापुरी, सोमेश्वर मा.वि.(हाल उ.मा.वि.) गर्दी बरुवा र जनकल्याण मा.वि.(हाल उ.मा.वि. उन्मुख) कल्याणपुर आदि खुल्दै आएको इतिहास छ । अहिले यी विद्यालयहरुमा एक हजार देखि पन्ध्र सय विद्यार्थीहरु अध्ययन गर्दछन् । हालका वर्षहरुमा बघौंडा–१, खैरहनीमा एक मा.वि., बसन्तपुरमा माध्यमिक तहको कक्षा सञ्चालन गर्ने पिसल्याण्ड इड्डलिस स्कूल र गुठी प्रणालीमा आधारित दिवाकर स्मृति विद्यालय, बरुवामा माध्यमिक तहको कक्षा सञ्चालन गर्ने विद्याज्योति इड्डलिस स्कूल, कल्याणपुरमा बालबिकास इड्डलिस स्कूल तथा दिव्य कालीका अंग्रेजी विद्यालय सञ्चालनमा छन् भने अयोध्यापुरीमा देबेन्द्रपुर प्रतिभा विद्यालय र रेवा सामुदायिक शिक्षा सदन संगै सबै गा.वि.स.हरुमा गरी सामुदायिक मा.वि., नि.मा.वि., प्रा.वि. र बोडिड्डहरु समेत गरी ५० औं विद्यालयहरु संचालित छन् ।

उच्च शिक्षाको धरोहरको रुपमा रहेको माडी क्याम्पस २०५३ सालमा स्थापित भई निरन्तर सञ्चालनमा छ, जहाँ सुरुमा आई.एड. र आइ.कम.को पढाई देखि लिएर हाल स्नातक तह ३ वर्षे वि.एड. र बि.बि.एस.को पढाइ हुँदै आएको छ । यस क्याम्पस अन्र्तगत प्लस टु तर्फ शिक्षा र व्यवस्थापन संकायसंग सम्बन्धित बिषयहरुको पठनपाठन हुँदै आएको छ । शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली र जनसंख्या, शिक्षाको विशिष्टीकरण विषयको रुपमा पढाई भैरहेको छ भने अर्थशास्त्र विषयको पनि त्रि.वि.बाट सम्बन्धन प्राप्त छ । शिक्षक दरवन्दी, शैक्षिक सामग्रीको कमी, बिद्यालय कर्मचारीको अभाव र वर्तमान देशको शैक्षिक अराजकताको बाबजुद पनि यहाँका शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गरेको देखिन्छ । स्वास्थ्यको हकमा बसन्तपुर बजारमा एम.बि.बि.एस्. डाक्टरको दरवन्दी रहेको एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ भने अन्य गा.वि.स.हरुमा स्वास्थ्य उपचौकीहरु रहेका छन् । साथै नेपाल नेत्रज्योति संघको रेखदेखमा भरतपुर आँखा अस्पतालद्वारा संचालित एक आँखा उपचार केन्द्र समेत बसन्तपुरमा संचालित छ र माडी पुष्पाञ्जली सामुदायिक अस्पताल, विश्वास फार्मेसी लगायत थुप्रै क्लिनिकहरुले स्वास्थ्य सेवा पु¥याइरहेका छन् । त्यसै बैंकिड्ड क्षेत्रमा कृषि विकास बैंक, त्रिवेणी विकास बैंक र निर्धन उत्थान बैंक बसन्तपुरमा संचालित छन् भने राष्ट्रिय बाणिज्य बैंकको सेवा उपलब्ध भइरहेको छ । सामुदायिक रेडियो माडी एफ.एम. १०७.६ मेगाहर्जले सामुदायिक सञ्चारको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भने कृषि सेवा केन्द्र, पशु उपचार केन्द्र लगायत कृषक उपकार वचत तथा ऋण सहकारी संस्था भैरवपुर, माडी बहुउद्देश्यीय सहकारी संस्था बसन्तपुर, महेश्वरी बहुउद्देश्यी सहकारी संस्था खैरहनी, जन्मभुमी उपभोक्ता सहकारी संस्था बघौडा –९, भैरवी दुग्ध उत्पादक सहकारी संस्था, गोपालनगर माछा उत्पादन तथा वितरण सहकारी संस्था लगायतका थुप्रै सरकारी तथा गैह्र सरकारी र सहकारी संस्थाहरु र विभिन्न व्यापारिक कम्पनीहरुले सेवा पु¥याईरहेका छन् ।

माडीको आर्थिक पक्ष :
यहाँका मानिसहरुको आर्थिक पक्षलाई नियाल्दा मुख्य व्यवसाय कृषि नै हो । शिक्षण संस्था, बैंक र अन्य केही सरकारी तथा गैह्र सरकारी क्षेत्रमा सेवामुलक पेशाहरु अपनाइएको देखिए पनि त्यो संख्या कृषि व्यवसायको तुलनामा निकै कम छ । हाल माडीका मुख्य बजारहरुमा गाउँबाट आई व्यवसाय गर्नेहरुको संख्या उलेख्य छ । यहाँका कतिपय मानिसहरु माडी बाहिर बसोवास गरेता पनि माडीमा उत्पादन हुने धान, मकै, गहूँ, तोरी, मुसुरो आदि जस्ता अन्न अनाजको भरमा जीवनयापन गर्छन् । माडी अन्न उत्पादनका लागि नेपालमै प्रसिद्ध छ । विशेषतः माछापालन, रेशमखेती, पशुपालन र च्याउखेतीमा माडी अग्रणी स्थानमा रहिआएको छ । कृषि व्यवसाय छाडेर विदेश, समुन्द्र पार वा अरेबियन मुलुकमा जाने युवाहरुको संख्या पनि प्रशस्त मात्रमा छ र यसबाट ठूलो मात्रमा रेमिट्यान्स भित्रिरहेको पनि छ ।

माडीमा उद्योग र व्यापार :
यस माडी क्षेत्रमा ठूला र भारी उद्योगहरु स्थापित छैनन् । साना र घरेलु स्तरका धानमिल, तेलमिल, प्लास्टिक उद्योग, बरफ उद्योग, सिलाई र छापाखाना यहाँका उद्योगहरु हुन भने किराना पसल, तरकारी पसल, फलफुल पसल, कपडा पसल, तयारी पोशाक पसल, पुस्तक पसल, बिजुली पसल, कम्प्युटर तथा मोबाइल बिक्री एवं मर्मत पसल, साउण्ड सिस्टम, टेन्ट हाउस, सुनचाँदी पसल, हार्डवेयर पसल, विविध औषधी बिक्री पसल, मलखाद र बिउबिजन बिक्री पसल आदि यहाँका व्यापारिक केन्द्रहरु हुन । अर्कोतर्फ यहाँ होटल, गेष्ट हाउस, कटेज रेष्टुराँ आदिजस्ता व्यवसाय समेत फस्टाइरहेको छ । यहाँको नारायणगढ–माडी–ठोरी हुलाकी मार्गमा पर्ने मुख्य बजारहरु पश्चिमबाट क्रमशः बरुवा, बसन्तपुर, कल्याणपुर, किर्तनपुर, देवेन्द्रपुर, खरकट्टा, कृष्णनगर, बगईं आदि मुख्य छन् । यी बजारहरुले स्थानीय आवश्यकता परिपूर्ति गर्दै आएका छन् । यिनीहरुमा पनि बसन्तपुर मुख्य व्यापारिक केन्द्र (सेन्ट्रल विजनेश डिष्ट्रिक्ट) बनेको छ । निर्यात योग्य उत्पादन मुख्य गरी नारायणगढ हुँदै देशको अन्य भागमा लैजाने माडीले आवश्यक सामानहरु आयात एवम् ढुवानी गरी व्यापारिक कारोवार गरेको पाइन्छ ।

माडीको सडक र यातायात :
यातायातको हकमा नारायणगढबाट माडी हुँदै हुलाकी मार्ग कच्ची भए पनि (हाल बनकट्टा–वगई २३.५ कि.मि. कालोपत्रे भैसेको) ठोरीसम्म पुगेको छ भने ठोरीबाट कच्ची मार्ग वीरगञ्ज सम्म जोडिएको छ । हाल रेवा नदीमा पक्की पुल बनेपछि र बनकट्टा–बगाई खण्ड पिच भईसकेपछि माडीको यातायात बिकासमा निकै उचाइ थपिएको छ । यस बाहेक सबै गा.वि.स.हरु भित्र शाखा बाटो र पुल पुलेसाहरु धेरै मात्रमा निर्माण भैसकेका छन् । हाल चारवटा रोडहरुको निर्माणको अवधारणा बारे पनि चर्चा चलेको छ जसमा चालु नारायणगढ–माडी–ठोरी हुलाकी मार्ग, वाईपास सडक, कृषि सडक र पर्यटन सडक पर्दछन् ।

चितवनको दक्षिणमा तराई प्रदेश टुटेको हुँदा माडीको दक्षिणमा पनि समथर प्रदेशको सट्टा सोमेश्वर चुरे पर्वत श्रृङ्खलाले दक्षिणमा भारतसँगको सिमानाको काम गरेको छ । माडीलाई जिल्ला सदरमुकाम भरतपुर हुँदै देशको राजधानी काठमाडौं र रसुवाको धुन्चे हुदै उत्तरको छिमेकी देश चीन र दक्षिणतिरको छिमेकी देश भारतको विहार प्रान्त बीच पर्ने ट्रान्जिट प्वाइन्टको रुपमा वा पुलको रुपमा पनि हेर्न सकिन्छ ।

माडीको पर्यटन विकास :
तयारी वस्तु उत्पादनका लागि उद्योग स्थापना गर्न ढिलाई भइरहेतापनि चारैतिर हरियाली, खोला खोल्सा झरना जस्ता प्राकृतिक बरदानले माडीलाई अत्यन्त सुन्दर बनाएका छन् भने मानव पहुँचद्वारा निर्मित विभिन्न टावर, मचान, लज, कटेज, पार्टी प्यालेस, माछा पोखरी, रेशम खेतीले माडीको विशिष्ठता झल्काउने काम गरेका छन् । त्यसैले आधुनिक विश्वको कोलाहल पूर्ण वातावरणबाट वाक्क भएर शान्ति र प्रकृतिको आनन्द लिने इच्छुक आगन्तुक पर्यटकहरुलाई माडीले लोभ्याउन सक्ने र उनीहरुको बसाइ लम्ब्याई पर्यटकहरुलाई सेवा दिएर पर्यावरणीय पर्यटन (इको टुरिजम) विकासका प्रशस्त सम्भावनाहरुको ढोका खुल्न सक्छ । यसबाट माडीको मात्र नभएर देशकै आय वृद्धिमा समेत ठूलो टेवा पु¥याउन सकिन्छ । बि.सं. २०६९ मा सम्पन्न प्रथम माडी महोत्सवले यसको बिकासको सम्भावनाको ढोका खोल्न सबैलाई जागरुक बनाएको छ ।

माडीको धार्मिक तथा पुरातात्विक स्थल :
अयोध्यापुरीमा वैकुण्ठे ताल, वैकुण्ठेश्वर मन्दिर, सीता गुफा, कोइलाखानी, कल्याणपुरमा भ्यू टावर, रेशम खेती, माछापालन, गोपालनगर सामुदायिक बन, बघौंडामा सोमेश्वर कालिका मन्दिर, दिवाकर उद्यान, मितेरी पार्क, हरियाली इनारबरुवा होम स्टे र छरछरे क्षेत्र, बघौंडा र गर्दीको बीचमा बैराठ धुनी तथा गर्दी क्षेत्रमा गोद्धक, पाँचपाण्डव, परशुराम कुण्ड र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने विक्रमबाबा क्षेत्रको आफ्नै महत्व छ । जस्तै बाला चर्तुदशीमा वैकुण्ठे, दशैं दुर्गा र चैते दशैंमा सोमेश्वर कालिका, हरिबोधनी एकादशीमा छरछरे र चैते दशैमै गोद्धक तथा बिक्रमबाबा मेला आदि पर्व तथा मेलाहरुले माडीको धार्मिक तथा पुरातात्वीक महत्व र पर्यटकीय महत्व बढाएको पाइन्छ ।

अन्त्यमा, राजनीतिक सहमति एवम् व्यवस्थापनमा स्थिरता, बिकासमा एकता एवम् गतिशीलता, राष्ट्र र राष्ट्रप्रति सर्मपण भावना, वातावरण र संस्कृति मैत्री भावले काम गर्दै गएमा माडीको बिकासका चुनौतीहरुलाई चिर्दै चैतर्फी बिकासको सम्भावनाका ढोकाहरु खोल्न सकिन्छ । विगतमा चितवनको विकट क्षेत्र मानिँदै आएको भएपनि हाल माडीवासीहरुले माडीलाई ‘हाम्रो माडी राम्रो माडी’ भनी गौरव गर्ने गरेका छन् ।

– माडीको भूगोलविद बद्रिनाथ अधिकारी द्वारा लिखित तथा देब ‘अञ्जान’ शाहद्वारा सम्पादित लेख

सर्वाधिकार सुरक्षित © 2017