एजेन्सी । क्रिस्टियानो रोनाल्डो भन्नेवित्तिकै संसारभरका फुटबलप्रेमिले नचिन्ने कुरै भएन । विश्व चर्चित पोर्चुगाली कप्तान रोनाल्डो फुटबलको दुनियामा महान खेलाडी हुन् । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले त्यसयता भएका विश्वकपमा निरन्तर खेल्दै आएका छन् ।
चार पटक युइएफए च्याम्पियन लिगको उपाधि जित्न सफल क्रिस्टियानो रोनाल्डो तीन वटा फिफा क्लबको विश्वकपका साथै युइफए यूरोपियन च्याम्पियनसिपका पनि विजेता हुन् ।
तर पनि उनको सम्पूर्ण फुटबल करियरको तुलनामा फिफामा रोनाल्डोले भनेजस्तो सफलता हासिल गर्न सकेका छैनन् । २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगलको हार रोनाल्डोको मनमस्तिष्कमा अझै ताजा रहेको बताइन्छ ।
तरपनि विश्वका सर्वोत्कृष्ट खेलाडी मानिने रोनाल्डोले फुटबल खेलमाअनगिन्ती रेकर्ड बनाई सकेका छन् । फिफामा उनका शीर्ष तीन उत्कृष्ट क्षणलाई हेर्दा उनको यात्रा यस प्रकार रहेको छ ।
इंग्ल्याण्ड ०–० पोर्चुगल, विश्वकप २००६
सन् २००६ मा भएको विश्वकपमा पोर्चुगलले पनि निकै राम्रो प्रदर्शन गरेको थियो । सेमिफाइनलसम्मको यात्रा तय गरेको पोर्चुगलले क्वाटरफाइनलमा इंग्ल्याण्डमाथि रोमाञ्चक जित हात पारेको थियो । निर्धारित ९० मिनेट र थप गरिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा खेल धकेलिएको थियो ।
पोर्चुगललाई सेमिफाइनलमा पु¥याउन रोनाल्डोको पनि ठूलो हात रहेको छ । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डलाई ३–१ गोलले हराउदा रोनाल्डोको एक गोल सामेल थियो । रोनाल्डोले अन्तिम पेनाल्टी हान्दै गोल गरेका थिए । त्यसपछि रोनाल्डो निकै चर्चामा आएका थिए । तर सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।
शानदार प्रहार गर्दै गोल गरेका रोनाल्डोले जितपछि भनेका थिए, “मलाई आफूमाथि धेरै विश्वास छ र म शाक्तिशाली खेलाडी हुँ ।”
के तपाईलाई थाहा छ ?
रोनाल्डोले पेनाल्टीमा प्रहार गरेको शानदार गोल आफ्ना पिता डिनीस एभेरोलाई समर्पित गरेका थिए । उनको पिताको एक वर्षअघि मृत्यु भएको थियो । गोल गरिसकेपछि रोनाल्डोले त्यसबेला आकाशतर्फ हेरेर “यो मात्र तपाईको लागि हो” भनेका थिए । त्यही समयदेखि रोनाल्डोले हरेक पटक जित हाशिल गर्दा आफ्ना पिताकै बारेमा मात्र सोच्ने गरेको बताउने गरेका छन् । उनी भन्छन्, “मेरो बुवाले मलाई सधैँ हेरिरहनुभएको छ र सपनामा आएर मलाई सन्देश दिने गर्नुहुन्छ । म आज जे छु सबै मेरा आमाबुवाको कारणले मात्र यहाँसम्म आइपुग्न सकेको हुँ ।”
पोर्चुगल ७–० उत्तर कोरिया, विश्वकप २०१०
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा उत्तर कोरियाविरुद्धको समूह चरणको खेलमा पोर्चुगलले गोलको वर्षा नै गरेको थियो । जुन खेलमा रोनाल्डोको पनि एक गोल सामेल थियो । ७–० गोलको भारी अन्तरले उत्तरकोरियालाई पराजित गर्दा रोनाल्डोले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए । उनको उत्कृष्ट गोल अहिलेपनि दर्शक तथा समर्थकले सम्झिने गर्दछन् । आफ्नो टिमलाई प्रि–क्वाटरफाइनलसम्म पु¥याएका रोनाल्डो एकपछि अर्को चर्चामा रहिरहे । तर, पोर्चुगल अन्तिम १६ मा भने स्पेनसँग १–० ले स्तब्ध बनेको थियो ।
यस खेलपछि उनकै साथि रिकार्डो कार्भाल्होले भनेका थिए, “रोनाल्डोको लागि गोल गर्न एकदमै जरुरी थियो । किनकि सबै स्टाइकर खेलाडीले आफ्नो आत्मविश्वास बढाउन गोल गर्नैपर्ने हुन्छ । सबैजना रोनाल्डोको प्रदर्शनसँग खुशी छन् र एउटा गोल गरिसकेपछि रोनाल्डो अब रोकिने छैनन् ।”
पोर्चुगलको यस स्कोरलाई ऐतिहासिक मानिएको भएपनि यसले विश्वकपमा धेरै अन्तरले विजय हुनेको सूचीमा शीर्ष पाँचमा समेत परेन । सन् १९८२ मा एल स्यालभाडेर विरुद्ध हंगेरीको १०–१ को रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । त्यस्तै हंगेरीले उत्तर कोरिया विरुद्ध ९–० गोल हाशिल गरेर अर्को रेकर्ड राख्न सफलभएको थियो । त्यस्तै स्वीडेनले क्युबालाई ८–० गोलले, उरुग्वेले बोलिभियालाई ८–० ले र जर्मनीले साउदी अरबलाई ८–० गोलअन्तरले पराजित गरेका रेकर्डहरू विश्वकपमा छन् ।
पोर्चुगल २–१ घाना, विश्वकप २०१४
ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकप फुटबल रोनाल्डोको लागि निकै निराशाजनक रह्यो । आफ्नो टिमलाई समूह चरण पनि पार गर्न नसकेका रोनाल्डो चोटको सिकार बनेका थिए । यो विश्वकपमा आफ्नो टिमका लागि रोनाल्डोले हालसम्मकै खराब प्रदर्शन गरेको बताइन्छ । उनको घुँडामा चोट लागेको कारण पनि उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
जर्मनीसँगको आफ्नो पहिलो खेलमा नै ४–० गोलअन्तरले पराजित भएको पोर्चुगल दोस्रो खेलमा अमेरिकासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
समूह चरण पार गर्नका लागि पोर्चुगललाई आफ्नो अन्तिम खेलमा निकै गोलअन्तरले घानामाथि जित हात पार्नु पर्ने अवस्था थियो । तर, पोर्चुगलले घानामाथि २–१ गोलअन्तरलेको जित हात पारेपनि भाग्यले साथ दिएन र अमेरिका प्रि–क्वाटरफाइनलमा पुग्यो ।
गोलको आधारमा अमेरिका पोर्चुगललाई पछि पार्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । आफ्नो समूह चरणको अन्तिम खेलमा घानालाई २–१ गोलअन्तरले हराउदा रोनाल्डोले एक गोल गरेका थिए । पोर्चुगलले अर्को गोल भने उपाहार स्वरुप पाएको थियो ।
सन् २०१४ को विश्वकप फुटबल रोनाल्डोको तेस्रो विश्वकप हो । यसअघि उनले २००६, २०१० मा खेलेका थिए । सन् २०१४ को विश्वकप जर्मनीले जित्दा रोनाल्डोले सबै खेलहरु गरेर ७० पटक मात्र गोल गर्ने प्रयास गरेका थिए ।
विश्वका सफल खेलाडीको दर्जमा परिचित रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो । पोर्चुगललाई जित दिलाउन कप्तान रोनाल्डोको निकै ठूलो भूमिका थियो ।
युरोकपको उपाधि जितेपछि रोनाल्डोले भनेका थिए, “हामीसँग सीमित खेलाडी मात्र भएकाले हामी कुनै बलियो टिम होइनौँ । यो कुनै चमत्कार पनि होइन । हरेक खेलमा हाम्रा विरुद्ध उत्कृष्ट टिमहरु थिए । त्यसकारण हामीले उपाधि जित्नेछौँ भनेर मैले एकपटक पनि सोचको थिइन ।”
एजेन्सीको सहयोगमा